काठमाडौं - हिमाली जिल्ला मुस्ताङ र मनाङमा च्यांग्रा पालक समूहलाई करोडौंको अनुदान उपलब्ध गराईने भएको छ । मुस्ताङमा पश्मिना उद्योग प्रर्वद्धन र पशु सेवालाई सुदृढीकरण गर्ने उद्देश्यले परियोजनाले च्यांग्रा पालक समूहलाई करोडौंको अनुदान उपलब्ध गराउने भएको हो। बदलिदो नयाँ प्रविधिको विकास र उपयोग गर्ने उद्देश्यले कार्यक्रम अघि बढाउदैँ गरेको परियोजनाका प्राविधिक एकदेव आचार्यले जानकारी दिए।
संघीयतापछि मुस्ताङमा संघ, प्रदेश र स्थानीय तहमा च्यांग्रा पालनका लागि प्रसस्तै अनुदानका कार्यक्रम सञ्चालनमा आएका छन्। संघीय सरकार अन्तर्गत आर्थिक वर्ष २०७० देखि २०८० सालसम्मका दश वर्षीय रणनीति अपनाउदैँ कृषि तथा पंक्षी विकास मन्त्रालयले च्यांग्रा पालनका लागि नेपाल लाईभस्टक सेक्टर ईनोभेसन परियोजना संञ्चालनमा ल्याएको छ। यो परियोजनाले आफ्नो आन्तरिक व्यवस्थापन गर्दै आव २०७५ सालदेखि कार्यक्रम सुरु गरेको हो। विश्व बैंकको १ सय मिलियन अमेरिकन डलर ऋण सहयोग लिएर नेपालका ७ प्रदेशको २८ जिल्लाका २ सय ९० पालिकामा परियोजना संञ्चालनमा ल्याएको छ।आयोजनाको पोखरा, मोरङ, डेटौडा र बुटवल लगायतका सहरमा विकेन्द्रित सहयोग ईकाई छन्। परियोजनाले सम्वन्धित जिल्लाको सम्भावना आकलन गरी व्यवसाय प्रर्वद्धनका लागि अनुदान उपलब्ध गराउने जनाएको छ।
परियोजना कार्यान्वयनका लागि मुस्ताङका स्थानीय तहसंग समन्वय गरी विभिन्न अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम सम्पन्न भईसकेको छ। परियोजना अन्तर्गत च्यांग्रा पालनका लागि मुस्ताङ र मनाङबाट कुल ५० समूहलाई समावेश गराईने कार्यक्रम छ। हिमाली जिल्लामा व्यवसायिक च्यांग्रा पालन सुरु गर्न स्थानीय च्यांग्रा पालक किसान समूहको सूचिकरण गर्ने काम समेत सकिएको परियोजनाका प्राविधिक आचार्यले जानकारी दिए। परियोजना मार्फत पश्मिना उत्पादन, च्यांग्राको मूल्य श्रखंला विकास र दुग्ध मुल्य श्रखंला विकासका लागि बढीमा करोडसम्मको अनुदान उपलब्ध हुने उनले बताए।
मुस्ताङ र मनाङमा पश्मिना उत्पादन, पश्मिना उद्योग संञ्चालन र यसको उपयुक्त बजारिकण गरी हिमाली क्षेत्रका च्यांग्रा पालक किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले परियोजना कार्यान्वयनमा आएको हो। यसअघि मुस्ताङ र मनाङका च्यांग्रा पालकलाई लक्षित गरी प्रस्ताव आह्वान समेत गरिएको थियो। व्यवसायिक च्यांग्रा पालनका लागि परियोजनाले सामाजिक परिचालक समेत खटाई सकेको छ। प्रस्तावित समूहले पेश गरेका डकुमेन्टका आधारमा च्यांग्रा र दुग्ध आयात प्रतिस्थापन र पश्मिनाको निर्यात प्रर्वद्धनमा परियोजनाले आर्थिक सहयोग गर्ने लक्ष्य राखेको छ।
परियोजना अन्तर्गत च्यांग्रा पालन गर्न चाहने समूह र सहकारीलाई छनौट भई व्यवसाय सञ्चालनमा आएपछि ५० प्रतिशत अनुदान उपलब्ध गराउने छ। व्यवसाय संञ्चालनका लागि परियोजनाको कार्यविधि बमोजिम ३० प्रतिशत बैंकको ऋण र २० प्रतिशत समूह वा सहकारीको लगानी अनिवार्य गराएको छ। परियोजना अन्तर्गत मुस्ताङमा ३५ समूह तथा सहकारीले प्रस्ताव पेश गरेपनि घरपझोङ गाउँपालिकामा १ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ७ वटा समूह मात्र परियोजनाको कार्यक्रम जोडिएका छन्।
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर गाउँपालिकामा प्रस्ताप पेश गरेका समूहले परियोजनाको कार्यविधि बमोजिम व्यवसाय सञ्चालन गर्न सहमत नभएपछि कार्यक्रम अघि बढ्न नसकेको परियोजना प्राविधिक एकदेव आचार्यले जानकारी दिए। घरपझोङ कालिगण्डकी महिला पशुपालक तथा पश्मिना प्रशोधन समूहले व्यवसायिक च्यांग्रा पालन सुरु गरिसकेको उनले बताए। उनका अनुसार वारागुङ मुक्तिक्षेत्रमा पनि चाँडै व्यवसायिक च्यांग्रा पालन कार्यक्रम सुरु हुनेछ।
विश्व बैंकको ऋण सहयोगमा सुरु गरिएको परियोजनाले ५० प्रतिशत अनुदान दिनेछ भने सम्वन्धि संस्थाले बैकको ऋण ३० प्रतिशत र समूहको लगानी २० प्रतिशत जोडेर बढीमा दुई करोडको लगानी समावेश गर्न सक्दछन्। यद्यपी परियोजना अन्तर्गत सम्वन्धि च्यांग्रा पालक समूहले आफूले स्टमेट गरेको लगानीको ढाँचामा पनि व्यवसाय सञ्चालन गर्न पाउने प्रावधान छ। परियोजनाले कार्यक्रम कार्यान्वयनमा ल्याउनु अघि संम्वन्धित समूह र सहकारीको च्यांग्रा गोठको समेत अनुगमन गरिसकेको परियोजना प्राविधिक आचार्यले जनाए।
परियोजनामा जोडिएका मुस्ताङका च्यांग्रा पालक समूह/सहकारीहरुलाई आवश्यक पर्ने १\१ थान ८० वार्डको सौर्यउर्जा सोलार,घांसको बिउ,पश्मिना काट्ने चर्खा,बोका र पशु भ्याक्सिन शतप्रतिशत अनुदानमा उपलब्ध गराईएको छ। परियोजनाले मुस्ताङ र मनाङका च्यांग्रा पालक समूह\सहकारीलाई ५० करोड अनुदान दिने भएपनि ताकिएको कोटा अझै पुग्न नसकेको हो।
हिमाली जिल्ला मुस्ताङ र मनाङमा च्यांग्रा पालनको प्रचुर संम्भावना छ। अनुकुल भूगोल र वातावरणीय दृष्टिकोणले हिमालीक्षेत्र मुस्ताङ र मनाङ च्यांग्रा पालनका लागि उपयुक्त स्थानको रुपमा लिईन्छ।
मुस्ताङका तीन पालिकामा च्यांग्रा जोन
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मुस्ताङका तीन पालिकामा च्यांग्रा जोन कार्यक्रम सञ्चालन गर्ने भएको छ। मुस्ताङमा पशुपालन व्यवसायको प्रर्वद्धन गर्दै स्थानीय किसानको जीवनस्तर उकास्न चालु आर्थिक वर्षदेखि च्यांग्रा जोन कार्यक्रम सञ्चालनमा आएको परियोजना कार्यान्वयन ईकाई मुस्ताङका प्रमुख सुधिर थापाले जानकारी दिए। यसका लागि परियोजना कार्यान्वयन ईकाई मुस्ताङले गत कार्तिकमा च्यांग्रा जोनमा सुचिकृत हुन प्रस्ताव गरेको थियो।
मुस्ताङको लोमान्थाङ गाउँपालिका अन्तर्गत छोसेर, न्यानोल, छोन्हुप, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत खिंगा, झोङ, ताङ्वे, तेताङ, कागबेनी र धाकार्जुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत चराङ, मराङ, घिलिङ र ताङग्या गाउँलाई च्यांग्रा जोन क्षेत्र तोकिएको थियो। च्यांग्रा जोन क्षत्रे निर्धारण भएका कुल ११ वटा समूह\सहकारीहरुलाई ५० लाख अनुदान दिईने परियोजना ईकाई प्रमुख थापाले बताए। च्यांग्रा जोन कार्यक्रम अन्तर्गत मासु पसल सुधार कार्यक्रमका लागि २ वटा कोटा, खोर सुधार सहयोगमा ६ वटा, खसी बोका संकलन केन्द्र निर्माण तथा सुधारमा १ र स्थानीय तहको समन्वयमा पशु नश्ल श्रोत केन्द्र स्थापना सुदृढिकरणमा १ वटा कोटा कायम गरिएको छ। च्यांग्रा जोनमा आवद्ध संस्थाले ५० प्रतिशत देखि ८५ प्रतिशत अनुदान उपलब्ध गराउने परियोजना कार्यान्वयन ईकाई मुस्ताङले जनाएको छ।
यस्तै गण्डकी प्रदेश सरकार र संघीय सर्शत अनुदान अन्तर्गत मुस्ताङमा च्यांग्रा पालनका लागि विभिन्न कार्यक्रम सञ्चालनमा छन्।
0 comment