काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा लिग लिडर चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका छन्। 

च्यासल रंगशालामा भएको खेलको १२औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। ३५औं मिनेटमा अबायोमी फाकुन्लेले गोल गर्दै शेर्पालाई बराबरीमा ल्याए।

दोस्रो हाफमा दुवै टिमले गोलका अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा शेर्पा र चर्चले अंक बाँडे। बराबरीसँगै खेल २० खेलबाट ३७ अंक जोडेको चर्च ब्वाइज युनाइटेडले शीर्ष स्थानमा अग्रता लम्ब्याउने मौका गुमाएको छ।

दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबको २० खेलबाट ३४ अंक छ। समान खेलबाट २६ अंक जोडेको शेर्पा सातौं स्थानमा उक्लिएको छ।

आजै ललितपुरस्थित एन्फा कम्लेक्समा भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबमाथि ३–० को जित हात पारेको छ ।

खेलको २६ औं मिनेटमा आर्मीका लागी जगजित श्रेष्ठले सुरुवाती गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीका लागी नवयुग श्रेष्ठले ७५औं मिनेटमा दोश्रो गोल गरे भने इन्जुरी समयमा सुदिल राईले तेश्रो ग्ल गर्दै ३-० को जित सुनिश्चित गरे ।

जितसँगै २० खेलबाट २९ अंक जोडेको आर्मी लिग तालिकाको पाँचौ स्थानमा पुगेको छ । समान २० खेलबाट २१ अंक जोडेको फ्रेण्ड्स पुछारबाट दोस्रो स्थानमा छ ।