काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरलाले इन्डियन वुमन्स लिग (आईडब्लुएल) २०२३ को उपाधि जितेको छ ।

आइतबार अहमदावादस्थित ट्रान्सस्टेडियामा भएको फाइनलमा गोकुलम केरलाले नेपालकै सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किक स्टार्टलाई ५-० गोल अन्तरले हराएर च्याम्पियन बनेको हो । गोकुलमले लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्दा फाइनलमा सावित्राले एक गोल र एक असिस्ट गरिन् ।

खेलको पाँचौ मिनेटमै सावित्राले गोल गर्दै अग्रता दिलाएकी थिइन् । सान्धिया रंगनाथनले २२औं इन्दुमती काथिरेसनले ३७औं मिनेटमा पेनाल्टीबाट गोल गरिन् । ५२औं मिनेटमा सान्धियाले व्यक्तिगत दोस्रो गोल गरिन् भने ८०औं मिनेटमा गोल गरेपछि गोकुलम केरला च्याम्पियन बन्यो ।

सावित्राले तेस्रो पटक आइडब्लुएलको उपाधि जितेकी हुन् । उनले दुई पटक गोकुलम केरला र एकपटक सेथु एफसीबाट उपाधि जितेकी हुन् । २०२१ मा भने चोटका कारण उनले लिग खेल्न सकिनन् ।

गोकुलम केरलाले अपराजित रहेर उपाधि जित्दा सानदार प्रदर्शन गरेकी सावित्राले सर्वाधिक २९ गोल गरिन् । उनले ५ खेलमा ह्याट्रिक गर्दा एकै खेलमा ७ गोल समेत गरेकी थिइन् । कूल १० खेल खेल्दा सावित्राले लिग चरणको एक खेल र क्वार्टरफाइनलमा मात्र गोल गर्न सकिनन् ।