काठमाडौं - ईंग्लिश प्रिमियर लिगको च्याम्पियन बनिसकेको म्यानचेष्टर सिटीले सोमबार राति चेल्सीलाई घरेलु मैदानमा १-० ले पराजित गर्दै उपाधि सेलेब्रेट गरेको छ ।

शनिबार राति भएको खेलमा दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग पराजित हुँदा सिटीले तीन खेल अगाडि नै उपाधि पक्का गरिसकेको थियो ।

सिटीले पछिल्लो ६ सिजनमा पाँचौ पटक र लगातार तेस्रो पटक प्रिमियर लिग जितेको हो ।

घरेलु मैदान एतीहाड स्टेडियममा चेल्सीविरुद्ध सिटीका लागि युलियन अल्भारेजले एक गोल गरे । सिटीका खेलाडी र समर्थकले खेलपछि विजय उत्सव मनाएका थिए ।

यस सिजन ट्रेबल जित्ने लक्ष्यमा रहेको सिटीले जुन ३ मा म्यानचेष्टर युनाइटेडसँग एफए कप फाइनल खेल्नेछ । यस्तै च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानसँग जुन १० मा खेल्नेछ ।