काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)लाई २–० ले पराजित गर्दै मछिन्द्र फुटबल क्लब लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

च्यासल रंगशालामा भएको खेलको ३१औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। इन्जुरी समयमा सौरभ लिम्बुले गोल गर्दै मछिन्द्रको पक्षमा २–० को जित सुनिश्चित गरे।

जितसँगै २० खेलबाट ३४ अंक जोडेको साविक विजेता मछिन्द्र दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट २३ अंक जोडेको एनआरटी दशौँ स्थानमा छ। शीर्ष स्थानको चर्च ब्वाईजको १९ खेलबाट ३६ अंक छ।

आजै दशरथ रंगशालामा भएको अर्को खेलमा मनाङ मर्स्याङ्दीले एपीएफसँग २–२ गोलको बराबरी खेलेको छ।

उक्त बराबरीसँगै मनाङले लिगमा लगातार सातौं बराबरी खेलेको हो। खेलको ७९ मिनेट १० जनामा सीमित भएको एपीएफविरुद्ध लिएको दुई पटकको अग्रता जोगाउन नसक्दा मनाङ बराबरीमै रोकियो।

एपीएफका डिफेन्डर विश्वास उदासले सुमित श्रेष्ठलाई पेनाल्टी एरियामा लडाएपछि रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। सोही फाउलमार्फत पाएको पेनाल्टीमा गोल गर्दै कोफी कौडोले १३औं मिनेटमा मनाङलाई अग्रता दिलाएका थिए। त्यसको सात मिनेट नबित्दै नवीन लामाले फ्रि–किकमार्फत गोल गर्दै एपीएफलाई बराबरीमा ल्याएका थिए। त्यसको ६ मिनेट नबित्दै सुमितले गोल गर्दै मनाङलाई पुनः अग्रता दिलाएका थिए। तर, ६४औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई हारबाट जोगाए। 

बराबरीसँगै मनाङ २० खेलबाट २४ अंक जोडेर आठौं स्थानमा छ। समान खेलबाट २३ अंक जोडेको एपीएफ नवौं स्थानमा छ।

त्यसैगरी आजै दशरथ रंगशालामा भएको अर्को खेलमा जावलाखेल र संकटाले पनि २-२ को बराबरी खेलेका छन्।

खेलको ४३ औँ मिनेटमा गोल गर्दै आयुष घलानले संकटालाई १-० को अग्रता दिलाए भने ७३औँ मिनेटमा गोल गर्दै चन्दन कुमार दासले खेललाई २-० मा पुर्‍याए । तर ७७ औँ मिनेटमा गोल गर्दै जावलाखेलका एन्कोटो मासोआबिले खेललाई २-१ बनाए भने ८६औँ मिनेटमा गोल गर्दै समिराज ठोकरले खेललाई २-२ को बराबरीमा ल्याए । 

बराबरीसँगै जावलाखेल २० खेलबाट ३३ अंक जोडेर तेश्रो स्थानमा छ। समान खेलबाट २३ अंक जोडेको संकटा ११औँ स्थानमा छ।