काठमाडौं - सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गोल मेसिन ‘साम्बा’ले दुई गोल गर्नुका साथै दुई असिस्ट गरेपछि साविक विजेता गोकुलम केरलाले दोस्रो सेमिफाइनलमा शुक्रबार राति इस्टर्न स्पोर्टिङ युनियनलाई ५-१ ले हरायो । गोकुलमका लागि इन्दुमतिले दुई गोल गरिन् भने एक गोल भिभिएन अडेजेईको नाममा रह्‍यो ।

अहेम्दाबादमा भएको दोस्रो सेमिफाइनलमा गोकुलम केरालले एक गोलले पछि परेको अवस्थामा पुनरागनमा गर्दा पाँचै गोलमा सावित्राको योगदान रह्यो । इन्दुमतिले पेनाल्टीमा पहिलो गोल गर्दा सावित्रालाई नै फाउल भएको थियो ।

खेलको १८औं मिनेटमा युमनाम कमला देवीले गोल गर्दै इस्टर्न स्पोर्टिङ युनियनलाई अग्रता दिलाएकी थिइन् । तर लामो समय टिकेन । ३१औं मिनेटमा गोकुलम केरलाकी इन्दुमति काथिरेसनले बराबरी गोल गरिन् । पहिलो हाफको इन्जुरी टाइममा सावित्राले गोल गर्दै गोकुलमको अग्रता दोब्बर पारिन् । सावित्राकै पासमा ५५औं मिनेटमा भिभियन र ७०औं मिनेटमा इन्दुमथिले गोल गरिन् भने सावित्राले खेलको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरिन् ।

जारी लिगमा ९ खेल खेल्दा ५ खेलमा ह्याट्रिक गरेकी सावित्राले सर्वाधिक २८ गोल गरेकी छन् । उनले एकै खेलमा ७ गोलसमेत गरेकी थिइन् । सावित्राले दुई पटक इन्डियन वुमन्स लिगको उपाधि जितिसकेकी छन् ।

गोकुलम केरलाले अब उपाधिका लागि नेपाली खेलाडीद्वय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसीसँग खेल्नेछ ।

किकस्टार्टले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको सेथु एफसीलाई २-० ले पराजित गर्दै किकस्टर्ट फाइनलमा पुगेको छ ।

उनै एन्जिला विरुद्ध सरुले सानदार गोल गरिन् । नेपाली राष्ट्रिय टिमसँगै घरेलु फुटबलमा एपीएफबाट सँगै खेल्ने यी दुई खेलाडी शुक्रबार एकअर्का विरुद्ध खेलेका थिए । जहाँ सरुले एन्जिला विरुद्ध ३० यार्ड टाढाबाट गोल गरिन् । किकस्टार्सका लागि सरुसँगै केन्याली खेलाडी किएको एलिजाबेथले पनि एक गोल गरिन् ।

समूह चरणदेखि क्वाटरफाइनलसम्मका ७ खेलमा ६ क्लिनसिट राखेकी एन्जिलाले सेमिफाइनलमा भने सरुलाई नै रोक्न सकिनन् । उनले यसअघि समूह चरणमा लर्ड्स एफए विरुद्ध एक गोल बेहोरेकी थिइन् ।