काठमाडौं - दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’मा परेको छ।
भारतको बेङ्गुरुमा जुन २१ देखि जुलाई चार सम्म हुने प्रतियोगितामा नेपालले समूह चरणमा आयोजक भारत, आमन्त्रित राष्ट्र कुवेत र पाकिस्तानको सामना गर्नेछ।
दक्षिण एसियाली फुटबल संघले आज सार्वजनिक गरेको ड्रअनुसार नेपालले निटकतम प्रतिद्वन्द्वी भारतकै समूहमा परेको हो। यसअघि माल्दिभ्समा भएको पछिल्लो संस्करणमा पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदा उपाधि उचाल्न असफल भएको थियो।
यसपाली दक्षिण एसियाका राष्ट्र बाहेक कुवेत र लेबनान पनि सहभागिता जनाउँदैछन्। प्रतियोगितामा सहभागी आठ राष्ट्र दुई समूहमा विभाजित छन्। दुवै समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।
साफले आजै सार्वजनिक गरेको खेल तालिका अनुसार जुन २१ मा साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल कुवेतसँग भिड्ने छ भने जुन २४ मा भारत र जुन २७ मा पाकिस्तानसँग खेल्ने छ।
समूह ए – भारत, कुवेत, नेपाल, पाकिस्तान
समूह बी– लेबनान, माल्दिभ्स, भुटान, बंगलादेश
0 comment