काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले एफसी खुमलटारलाई ३–१ गोलको नतिजामा पराजित गरेको छ। 

च्यासल रंगशालामा भएको खेलको चौथो मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए। १६औं मिनेटमा पुन: गोल गर्दै अमिनुले फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए।

पहिलो हाफमा २–० ले पछि परेको खुमलटारका लागि मेसुके ओलोमोउले ६७औं मिनेटमा एक गोल फर्काए। तर, ७८औं मिनेटमा सन्तोष खत्रीले गरेको गोलसँगै फ्रेन्ड्सले ३–१ को जित सुनिश्चित गर्यो।

जितसँगै १५ खेलबाट १९ अंक जोडेको फ्रेन्ड्स क्लब नवौं स्थानमा उक्लिएको छ। समान खेलबाट १७ अंक जोडेको खुमलटार १३औं स्थानमा छ। 

आजै भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले २–२ गोलको बराबरी खेलेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६औं मिनेटमा अहमद हिजाजीले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाए। रोशन राना मगरले ३३औं मिनेटमा गरेको गोलसँगै मनाङले बराबरी गरेको थियो। पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी हुँदा सायिदजामोलको गोलसँगै मनाङले १–२ को अग्रता लियो। तर, ७१औं मिनेटमा हिजाजीको दोश्रो गोलसँगै खेल बराबरीमा टुङ्गियो। 

बराबरीसँगै मनाङ १६ खेलबाट २० अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। समान खेलबाट १६ अंक मात्रै जोडेको पुलिस १४औं स्थानमा छ।