काठमाडौं - नेपाल चेम्बर अफ कमर्सले जेठ ४ देखि ८ गतेसम्म नेपाल चेम्बर एक्स्पो आयोजना गर्ने भएको छ।
देशको समग्र विकास, निजी क्षेत्रको सशक्तीकरणबाट मात्र सम्भव हुनेछ भन्ने अभिप्रायले चेम्बरले जेठ ४ देखि ८ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी कक्ष काठमाडौंमा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ आयोजना गर्न लागेको हो।
निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनमा सहभागितासँग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य हो। पछिल्ला पाँच संस्करणको सफलतापूर्वक आयोजना गरी सकेपछि चेम्बरले मेलाको छैटौं संस्करणमा व्यापारिक अन्तक्रिया, आयात–निर्यातको सूचना आदान-प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको छ।
मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको समेत प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीलाई सहयोग मिल्ने आयोजकको विश्वास लिएको छ।
गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ताहितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ। निकासी अभिवृद्धि गर्ने उद्देश्य लिई चेम्बरले यस प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमीसमेत गर्ने उद्देश्य राखेको छ।
0 comment