काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारले लिग लिडर जावलाखेल युथ क्लबलाई २–४ गोलको नतिजामा पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको २०औं मिनेटमा स्टेफन समिरले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए। पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा खुमलटारकै रोहित सुब्बाले गरेको आत्मघाति गोलसँगै जावलाखेल बराबरीमा फर्किएको थियो।

तर, पहिलो हाफको इन्जुरी समयमा समिरले नै पुनः गोल गर्दै १–२ को अग्रता दिलाएका थिए। समिरले ५१औं मिनेटमा ह्याट्रिक गरेसँगै खुमलटारले अग्रता १–३ मा लम्ब्याएको थियो।

इन्जुरी समयको तेस्रो मिनेटमा विनोद केसीले गरेको गोलसँगै स्कोरलाइन २–३ मा छोट्याएको जावलाखेल सम्हालिन नसक्दा पुनः गोल खायो।

मेसुके ओलोमोउले इन्जुरी मिनेटको पाँचौं मिनेटमा गोल गर्दै खुमलटारका लागि २–४ को जित सुनिश्चित गरे। त्यो गोलसँगै मेसुके जारी लिगका सर्वाधिक गोलकर्ता बनेका छन्। उनले १५ खेलमा १२ गोल गरिसकेका छन्। 

जितसँगै खुमलटार १५ खेलबाट १७ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ। समान खेलबाट २४ अंक जोडेको जावलाखेल शीर्ष स्थानमा छ।

आजै दशरथ रंगशालामा भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई २-१ गोलको नतिजामा पराजित गरेको छ । पराजयसँगै पुलिस पुनः रेलिगेसन क्षेत्रमा पुगेको छ ।

शेर्पाले महत्वपूर्ण तीन अंक जोड्ने क्रममा विदेशी खेलाडी अवायोमी ओलुवासेउन र अमृत श्रेष्ठले गोल गरे ।

अवायोमीले १४औं मिनेटमा शेर्पालाई अग्रता दिलाए पनि ३०औं मिनेटमा सौजन राईले बराबरी गोल गरी पुलिसलाई खेलमा फर्काएका थिए । तर, दोस्रो हाफको सुरुमै अमृत श्रेष्ठले शेर्पालाई अग्रता दिलाए ।

जितसँगै शेर्पा १५ खेलबाट २० अंकसहित तालिकाको सातौं स्थानमा उक्लिएको छ भने नेपाल पुलिस समान खेलबाट १५ अंकसहित १३ औँ स्थानमा छ । एक खेल कम खेलेको फ्रेण्ड्ससँग समान १५ अंक भए पनि हेड टू हेडको आधारमा पुलिस अगाडि छ ।