काठमाडौं - मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत १४औं चरणको अन्तिम खेलमा संकटा क्लबलाई ३-१ गोलको नतिजामा पराजित गरेको छ। 

त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रलाई जित दिलाउन देवेन्द्र तामाङ, ओलावाले आफिज र विमल घर्ती मगरले गोल गरे । संकटाका जुनियर केङ्गेले एक गोल फर्काएका थिए। 

खेल सुरु भएको चौथो मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए।  पुजन उपरकोटिको प्रहार संकटाका गोलकिपर टिकेन्द्र थापाले बचाउन नसकेको बलमा ६ यार्डबक्समा अनमार्क रहेका देवेन्द्रले सुन्दर गोल गरे। 

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको मछिद्र दोस्रो हाफमा पनि संकटामाथि हाबि भयो। ओलावाले अफिजले ६९औं मिनेटमा मछिन्द्रको अग्रता दोब्बर पारे। जुनियरले ७८औं मिनेटमा गोल गर्दै संकटाले खेलमा फर्किने संकेत गरेको थियो। तर, ८९औं मिनेटमा बिमल घर्ति मगरले गोल गर्दै मछिन्द्रको जित ३–१ ले सुनिश्चित गरे। 

जितसँगै मछिन्द्र २१ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित संकटा १६ अंकसहित ११औं स्थानमा छ। 

यस्तै, च्यासल रंगशालामा भएको खेलमा एपीएफ क्लब र न्यूरोड टिम (एनआरटी)ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। पहिलो हाफ गोलरहित बराबरी खेलेको एनआरटीले ५८औं मिनेटमा लालनुनजामाको गोलमा अग्रता लिएको थियो। 

खेलको निर्धारित समयसम्म पनि १–० गोलको अग्रता बनाएको एनआरटी इन्जुरी समयमा सम्हानि सकेन। एपीएफका एडामा डोम्बियाले इन्जुरी समयमा गोल फर्काउँदा एनआरटी अंक बाड्न बाध्य भयो। 

बाराबरीसँगै एपीएफ १४ खेलमा १९ अंक जोडेर तालिकाको ७औं स्थानमा छ। एनआरटी १७अंकसहित नवौं स्थानमा छ।
 
लिगमा १४औं चरणको समाप्तिमा जावलाखेल २४ अंकसहित शिर्ष स्थानमा छ । दोस्रो स्थानको चर्च ब्वाइज यूनाइटेडको पनि समान २४अंक छ। थ्री स्टार क्लब २३ अंकसहित तेस्रो स्थानमा छ।