काठमाडौं - नेपोली ३३ वर्षपछि सिरी ए जित्दै इटालियन च्याम्पियन बनेको छ। 

बिहीबार राति भएको खेलमा उडिनेसीसँग बराबरी खेलेसँगै नेपोली पाँच खेल अगावै च्याम्पियन बनेको हो।

सान्डी लोभ्रिचले १३औं मिनेटमा गरेको गोलसँगै घरेलु टिम उडिनेसीले अग्रता लिएको थियो। पहिलो हाफमा १–० ले पछि परेको नेपोलीले दोस्रो हाफमा बराबरी गोल फर्काएसँगै उपाधि जित्यो।

भिक्टोर ओसिमेनले ५२औं मिनेटमा भ्रमणकारी नेपोलीका लागि बराबरी गोल फर्काएका थिए। उनको गोलसँगै बिहीबार राति एक अंक थपेको नेपोली तीन दशकपछि च्याम्पियन बन्यो।

अर्जेन्टाइन महान् फुटबल डिएगो म्याराडोनाप्रेरित नेपोलीले सन् १९९० मा पछिल्लो पटक इटालियन लिग जितेको थियो। नेपोलीले समग्रमा तेस्रो पटक सिरी एको उपाधि जितेको हो।