काठमाडौं - एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको छ। 

त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङ थालेको यूएईले सोमबार २७.३ ओरभमा १०६ रन बनाउँदा ९ विकेट गुमाएको थियो। मंगलबार बिहान सोही इनिङ्स अगाडि बढाएको यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाउनुअघि ११७ रनको योगफल तयार गरेको थियो। 

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३०.३ ओभरमा मात्रै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

नेपालका लागि वान् डाउनमा क्रिजमा उत्रिएका गुल्शन झाले ७५ बलमा अर्धशतक पूरा गरे। दुवै ओपनर र कप्तानलाई सस्तैमा गुमाएको नेपालको इनिङ्समा सबैभन्दा महत्त्वपूर्ण भूमिका निभाएका गुल्शन ८४ बलमा तीन चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे। गुल्शनसँग ९६ रनको साझेदारी गरेका भीम सार्कीले पनि महत्त्वपूर्ण इनिङ्स खेले। नेपालका लागि ७२ बलको सामना गरेका भीम चार चौकासहित ३६ रनमा अविजित रहे।

सुरुआतमा संघर्ष गरेको नेपालका दुवै ओपनर– कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल पभिलियन फर्केका थिए। कुशल एक, आसिफ आठ र रोहित एक रनमा आउट भएका थिए।

यूएईका लागि रोहन मुस्तफाले १० ओभरमा १३ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै, आयान खानले एक विकट लिए।

यूएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ४६ रन बनाए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि ललित राजबंशीले ७.१ ओभरमा १४ रन खर्चिएर दुई मेडनसहित सर्वाधिक चार विकेट लिए। करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए भने गुल्शन झा र सोमपाल कामीले एक-एक विकेट लिए। 

सोमबार वर्षाका कारण टुङ्गिन नपाएको फाइनल आज ९ बजेदेखि हिजो रोकिएकै अवस्थाबाट सुरु भएको थियो।

पाँच खेलमा १३ विकेट लिएका सन्दीप लामिछाने प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए । यस्तै, ६ खेलमा दुई शतक र एक अर्धशतकसहित ४५४ रन जोडेका यूएईका वृत्य अरविन्द उत्कृष्ट ब्याटर घोषित भए।

प्रिमियर कप च्याम्यिन भएसँगै नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाएको छ। समूह ‘ए’मा परेको नेपालले भारत र पाकिस्तानसँग खेल्ने छ। समूहको शीर्ष टिम सुपर फोरमा पुग्ने छन्। यस्तै, समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

सरकारको तर्फबाट प्रोत्साहन र पुरस्कार : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन्।

कपमा छनोट हुनु ठूलो सफलता भएको भन्दै प्रधानमन्त्रीले भनेका छन्, 'एसिया कप छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।'