काठमाडौं - एसीसी प्रमियर कपअन्तर्गत नेपाल र युएईविरुद्धको फाइनल खेल भोलिसम्मका लागि स्थगित भएको छ। 

भारी वर्षाका कारण खेल 'रिजर्भ डे'सम्मका लागि सरेको क्रिकेट संघ नेपाल (क्यान)ले जानकारी दिएको छ। नेपाल र युएईबीचको फाइनल खेल भोलि आज रोकिएको अवस्थादेखि सुरु हुने क्यानले जनाएको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल रोकिएको हो। खेल रोकिनुअघि युएईका लागि आसिफ खानले ४६ रन बनाए भने आयन लाक्राले १३ रन जोडे। 

त्यस्तै मुहम्मद वासिमले ११ रन बनाउँदा बसिर हमिदले १० बनाए। नेपालका ललित राजबंशीले तीन विकेट लिए। साथै करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए भने गुल्शन झा र सोमपाल कामीले एक-एक विकेट लिए।