काठमाडौं – आगोको ज्वाला र प्रकाशमा निकै भिन्नता छ । आगो बन्नलाई अक्सिजनको आवश्यकता पर्छ । ज्वालाको माथिको हावा तात्न थाल्दछ । यसरी तातेको हावा हलुका हुन्छ जसले गर्दा माथितिर जान थाल्दछ ।

त्यसैगरी चिसो हावा तलबाट आगोको ज्वालातर्फ लाग्दछ । यसरी गह्रौं हावा तलबाट ज्वालातर्फ लाग्ने र हलुका भइ माथितिर लाग्नाले पनि ज्वाला माथितिर जाने गरेको हो । जहाँसम्म प्रकाशसँग सम्बन्धित कुरा छ । प्रकाशलाई हावा वा अन्य वस्तुगत माध्यमको आवश्यकता पर्दैन । प्रकाश एक ठाउँबाट अर्को ठाउँमा जानको लागि पृथ्वी वा अन्य ग्रहहरूको गुरूत्वबलले कुनै असर पार्दैन । त्यसैले ज्वालाबाट निस्किएको प्रकाश तरङ्गको रूपमा जुनसुकै दिशामा पनि जान सक्छ । यसरी प्रसारण हुने हुँदा प्रकाश शून्य स्थान वा कुनै वस्तुगत माध्यम भए तापनि सजिलै प्रसारण हुन सक्दछन् । सूर्यबाट प्रकाशका किरणहरू ट्रान्सभर्स तरङ्गको रूपमा पृथ्वीसम्म आएका हुन् । त्यसैले पृथ्वीको गुरूत्वाकर्षण बल नभए पनि पृथ्वीसम्म सूर्यका किरण सजिलै आउन सक्दछन् । हामीलाई जानकारी भएकै कुरा हो कि पृथ्वीको केन्द्रतिर तान्ने गुरूत्वाबल नभएको खण्डमा पृथ्वी सानासाना कण भएर ब्रम्ह्माण्डमा छरिने थियो अर्थात् ठूलो पिण्डको रूपमा रहने थिएन ।