काठमाडौं - प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि जारी निर्वाचनमा चितवनमा दुई मतदान केन्द्रको मतदान स्थगित भएको छ।  चितवनको भरतपुर-११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालय र भरतपुर-७ को कृष्णपुर मावि मतदान केन्द्रमा मतदान रोकिएको हो। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र अन्य दलका कार्यकर्ताबीच झडप भएपछि दुवै केन्द्रको मतदान प्रभावित भएको हो।

रास्वपाका सभापति लामिछाने नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालयमा मतदानका क्रममा अवलोकन गर्न आएपछि रविका समर्थकहरूले नाराबाजी गरेका थिए। मतदानका क्रममा नाराबाजी गर्नु आचारसंहिता विपरित रहेको भन्दै कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले विरोध गरेपछी विवाद सृजना भएको थियो। त्‍यसपछि एक घन्टा मतदान स्थगित भएको थियो।

कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुले रास्वपाका कार्यकर्ताले मतदान कार्य प्रभावित पारेको भन्दै माफी माग्नुपर्ने अडान लिएका छन्। माफी नमागेसम्म मतदान कार्य अघि नबढाउने उनीहरूको अडान छ।

सर्वदलीय बैठक बसेर मतदान सञ्चालन गर्ने भनिएपनी कांग्रेस र नेकपा एमालेका प्रतिनिधिले मानेनन्। प्रतिनिधिबिना मतदान सञ्‍चालन गर्न खोज्दा कांग्रेस र एमालेले अवरोध गरेपछि अहिले मतदान रोकिएको हो।

यस्तै, भरतपुर- ७ को कृष्णपुर मावि मतदान केन्द्रमा पनि मतदान स्थगित भएको थियो। रवि लामिछानेले भीड जम्मा गरेर मतदानस्थल आएको भन्दै अन्य दलका कार्यकर्ताले अवरोध जनाएका थिए। सोही क्रममा रास्वपाका कार्यकर्ता र नेपाली कांग्रेस,नेकपा एमालेका कार्यकर्ताबीच झडप समेत भएको थियो।

मतदान स्थगित भएपछि बसेको सर्वदलीय बैठकबाट चार बुँदे सहमति भएसँगै मतदान कार्य पुन: अघि बढेको थियो।

रास्वपाबाट चुनाव भइरहेको बेला आचारसंहिचता उल्लघंन भएकाले सो दलले क्षमायाचना गर्ने सहमति भएको छ । यस्तै, मतदान केन्द्रको तीन सय मिटर वरिपरी शान्ति सुरक्षा कायम गर्ने सहमति भएको छ । यस्तै, आचारसंहिता उल्लघंन भएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई दिने र अवरुद्ध भएको निर्वाचन अघि बढाउने सहमति भएको मतदान अधिकृत कमला न्यौपानेले जानकारी दिइन् ।