काठमाडौं - बैंकहरूले निक्षेप ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेसँगै सेयर बजारमा रौनक उछाल छ। आज सेयर बजार परिसूचक नेप्से ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १८.२५ अंकले बढेर ३७३.७१ विन्दुमा पुगेको छ।     

आज २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर १ अर्ब ७ करोड ६० लाख ७६ हजार रुपैयाँमा खरिद/बिक्री भयो।

आज कारोबारमा आएका १३ वटै समुहको उपसूचक उकालो लागेको छ। वित्त उपसमूहको सूचक सर्वाधिक ६.८४ प्रतिशतले बढ्यो भने बैंकिङ, डेभलपमेन्ट बैंक र माइक्रो फाइनान्स उपसमूहको सूचक ५ प्रतिशत बढिले बढ्यो। हाइड्रोपावर, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो र माइक्रो फाइनान्स उपसमूहको सूचक ४ प्रतिशत् बढिले उकालो लाग्यो। होटेल, ट्रेडिङ र अन्य उपसमूहको सूचक ३ प्रतिशत् बढिले उकालो लाग्यो भने म्युचुअल फण्डको सूचक २ प्रतिशत् बढिले उकालो लाग्यो।

सेयर बजारमा उच्च अंकको सुधार देखिएसँगै आज ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सिद्धार्थ इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड १, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र गणपति लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। त्यसैगरी, ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढिले उकालो लाग्यो। 

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टको आज ११ करोड ७१ लाख बढिको सेयर कारोबार भयो।