काठमाडौं – हाम्रो समाजमा पुरुषहरु भन्दा महिलाहरुलाई कमजोर ठान्छन् । पुरुषहरु शक्तिशाली र महिलाहरु कमजोर हुन्छन् भन्ने मान्यता रहेको छ । यो कुरालाई गलत सावित गरिदिएको छ एक अध्ययनले । महिलाहरु शारीरिक रुपमै पुरुषहरुभन्दा बलियो हुन्छन् र उनीहरुको आयु पनि लामो हुन्छ । पुरुषहरुको औसत आयु ६७ वर्ष र महिलाहरुको औसत आयु ७१.१ वर्ष हुन्छ । सामान्यतया महिलाहरु पुरुषको तुलनामा बढि बाँच्छन् । यो कुरा विभिन्न सोध तथा अनुसन्धानहरुले पनि प्रमाणित गरिसकेको छ । महिलाहरुको औसत आयु पुरुषहरुको भन्दा ३ बर्ष बढि हुन्छ । तर तपाईहरुले कहिल्यै सोच्नु भएको छ ? यस्तो किन हुन्छ ?
पहिलेको मानिसहरुले यस्तो हुनुको पछाडि विभिन्न कारणहरु बताउँदै आएपनि त्यसमा कुनै वैज्ञानिक आधार थिएन । उनीहरुका अनुसार महिलाहरु धेरै काम गर्दैनन् अथवा हल्का काम गर्छन् भन्ठान्थे । त्यसकारण पुरुषहरुको तुलनामा महिलाहरु धेरै बाँच्छन् । अहिले वैज्ञानिकहरुले यो कुरालाई प्रमाणित गरिदिएका छन् । स्वस्थ महिलाको उमेर स्वस्थ पुरुषको भन्दा बढि हुन्छ । यसको कारण उनीहरुको काम नभएर शारीरिक वनावट यानी बायोलोजिकल स्ट्रक्चर हो ।
महिलाहरुभन्दा पुरुषहरु बढि बाँच्छन् यो कुरा मानिसहरुमा मात्र नभएर जनावारमा पनि लागु हुन्छ । हुनत कुनै कुनै जनावरहरु फिमेल भन्दा मेल नै बढि बाँच्छन् । तर मानिसहरुको सन्दर्भमा यो कुरा सयौं वर्षदेखि लागु भएको हो कि महिलाहरु पुरुषहरुभन्दा बढि बाँच्छन् । मानवका अलावा मानवको पुर्वज मानिने बाँदर, गोरिल्ला, चिम्पाञ्जी, लंगुर आदि पनि मेल भन्दा फेमेल धेरै बाँच्छन् ।
संसारभर, महिलाहरूको औसत आयु पुरुषहरूभन्दा लामो छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू ७२ वर्षको औसत आयु लिएर जन्मिएका थिए । यो तथ्याङ्क लिङ्गका आधारमा औसत आयु छुट्टाउँदा भने महिलाको ७४ वर्ष दुई महिना र पुरुषको ६९ वर्ष आठ महिना थियो । सन् २०१० को अमेरिकी जनगणनामा अमेरिकाका एक सय वर्षभन्दा माथि उमेरका ५३,३६४ जना थिए । उनीहरूमध्ये ९,१६२ जना पुरुष र ४४,२०२ जना महिला थिए ।
किन पुरुषभन्दा महिला बढी बाँच्छन् त ? उनीहरूलाई कस्ले पुरूषभन्दा लामो जिउन सहयोग गर्छ ?
प्रमुख तीन कारणहरु यस्ता छन्
१. जीन
मानव मृत्युदरका बारेमा ४० देशका तथ्याङ्क उपलब्ध छन् । ती मध्ये स्वीडेन र फ्रान्सका क्रमशः सन् १७५१ र १८१६ देखिका तथ्याङ्क छन्। तर जापान र रुसमा बीसौं शताब्दीको मध्यबाटको तथ्याङ्क मात्रै उपलब्ध छ । तथ्याङ्क भएका ती सबै देशमा प्रत्येक वर्ष महिलाहरूको औसत उमेर पुरुषहरूको भन्दा बढी छ । त्यसैले महिलाको तुलनामा पुरुषलाई प्रकृतिले नै जिउन कम उमेर दिएको देखिन्छ ।
भ्रूणहरू : युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक डेभिठ जेम्स भन्छन्, “पुरुष भ्रूणहरू महिला भ्रूणभन्दा बढी खेर जान्छन् ।” यसको एउटा कारण चाहिँ लिङ्ग निर्धारण गर्ने क्रोमोजोमका कारण हुनसक्छ। महिलाहरूमा दुई एक्स तथा पुरुषहरूमा एक्स र वाई क्रोमोजोम हुन्छन् । क्रोमोजोमा जीन हुन्छ । एक्स क्रोमोजोममा आयु लामो बनाउने धेरै नै क्रोमोजोम हुन्छ । एक कार्यक्रममा बीबीसी रेडियोसँग कुरा गर्दै जेम्सले भनका थिए, “यदि तपाईँको एक्स क्रोमोजोमको कुनै समस्या छ र तपाईँ महिला हो भने तपाईँसँग अर्को एउटा एक्स क्रोमोजोम रहन्छ । तर तपाईँ पुरुष हो भने तपाईँसँग अर्को एक्स क्रोमोजोम हुन्न ।” “पुरुषहरू गर्भावस्थामै मर्ने सम्भावना २० देखि ३० प्रतिशत बढी हुन्छ,” एक्टर विश्वविद्यालयकी लोर्ना ह्यारिसले बताउछिन । भाले चराहरूमा भने दुई एक्स क्रोमोजोम हुन्छ र उनीहरू पोथी चराभन्दा बढी बाँच्छन् ।
२. हर्मोन
किशोरावस्थामा किशोर किशोरीहरूमा हर्मोन परिवर्तन हुन्छ । धोक्रो आवाज र छातीमा रौंजस्ता पुरुषजन्य विशेषताका लागि टेस्टस्टोरोन नामक हर्मोन जिम्मेवार हुन्छ । किशोरावस्थाको अन्तिमतिर पुरुषहरूमा ह्वात्तै टेस्टस्टोरोन बढ्छ । यही समय पुरुषहरूको मृत्युदर पनि बढ्छ । विज्ञहरूका अनुसार पुरुषहरूले झगडा, तीव्रगतिमा सवारी हाँक्नेजस्ता जोखिमपूर्ण कामहरू र आत्महत्या पनि धेरै गर्छन् । केही वर्ष अगाडि कोरयाली वैज्ञानिक हान नाम पार्कले उन्नाइसौं शताब्दीमा एउटा समुदायमा मरेकाहरूको मृत्युको विवरण अध्ययन गरेका थिए।
तीमध्ये किशोरावस्थामा पुग्नु अगाडि अण्डकोष निकालिएका ८१ जना नपुंसकहरू थिए र उनीहरूको औसत उमेर ७० वर्ष पाइएको थियो। त्यही समयका अरू पुरुषहरूको उमेर भने ५० थियो । धेरै अध्ययनहरूले मानिस वा जनावरहरूको आयु अण्डकोष नभएमा लामो हुने देखाएका छन् । महिलाहरूको हार्मोन एस्ट्रोजिनमा भने शरीरमा हुने हानीकारक तत्वहरूलाई हटाउने गुण हुन्छ । महिलाहरूको हर्मोन एस्ट्रोजिन हानीकारक कोलोस्टूोलविरुद्ध लडेर मुटु रोगबाट बच्न मद्दत गर्छ ।
३. पेशा र आचरण
द्वन्द्वग्रस्त क्षेत्रहरूमा पुरुष आयु धेरै घट्छ । तर स्वास्थ्य सेवा नपुगेका ठाँउहरूमा सुत्केरी हुने बेलामा धेरै महिलाहरूको ज्यान जान्छ । धूम्रपान, मद्यपान र खानपानका कारण पनि विभिन्न देशहरूमा पुरुष र महिलाको आयु फरक हुन्छ। रुसमा पुरुषहरू अधिक मद्यपानका कारण महिलाहरूभन्दा १३ वर्ष कम बाँच्छन् । महिलाको आयु लामो भएपनि उनीहरूमा रोग लाग्ने सम्भावना ज्यादा हुन्छ । महिलाहरू पुरुषभन्दा बढि अस्पताल पुग्छन् । महिलाहरू १६ देखि ६० वर्षको उमेरमा पुरुषभन्दा धेरै अस्पताल पुग्ने गर्छन् ।
खाडल पुरिदै : हालैका केही अध्ययनहरूले महिला पुरुषबीच आयुको यो खाडल छिट्टै पुरिने बताएका छन् । ब्रिटेनमा महिला र पुरुषको आयु दुई दशकमा बराबर आउने बताइएको छ । इम्पेरियल कलेज लण्डनको एक अध्ययनका अनुसार सन् २०३० सम्ममा ब्रिटेनमा महिला र पुरुषबीचको यो दुरी एक वर्ष नौ महिनामा झर्ने बताइएको छ । अहिले ब्रिटेनमा जन्मेको पुरुष ७९ वर्ष दुई महिना बाँच्ने र महिला ८२ वर्ष नौ महिना बाँच्ने तथ्याङ्क छ । प्राध्यापक लेस मेहेउले गरेको एक अध्ययनमा सन् २०३२ सम्ममा महिला पुरुषको आयु बराबर हुने देखाइएको छ ।
0 comment