काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो ७ महिनामा देशमा करिब ७ खर्ब रेमिट्यान्स भित्रिएको जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा यो २७.१ प्रतिशत बढी हो । राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भइ ५ अर्ब ३० करोड पुगेको छ । केन्द्रीय बैंकका अनुसार असोज मसान्तसम्म देशमा २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । त्यसयता कात्तिकमा ९७ अर्ब, मंसिरमा १ खर्ब २ अर्ब, पुसमा १ अर्ब ५ अर्ब र माघमा १ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
७ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भइ ३ लाख १४ हजार ७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १०.१ प्रतिशतले वृद्धि भइ १ लाख ६७ हजार ७०८ पुगेको छ ।
११ महिनाको आयात धान्न पर्याप्त विदेशी मुद्रा सञ्चिति
केन्द्रीय बैंकका अनुसार विदेशी विनिमय सञ्चितिमा पनि व्यापक सुधार आएको छ। हालको सञ्चिति १०.८ महिनाको आयात धान्न पर्याप्त छ ।
गत माघमा मात्रै ४६ अर्ब डलर सञ्चिति बढेको केन्द्रिय बैंकले जनाएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भइ २०७९ माघ मसान्तमा १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७९/८० को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको केन्द्रीय बैंकको दाबी छ । पुससम्म यस्तो पर्याप्तता १०.४ महिनाको मात्र थियो ।
पुसदेखि विलासिताका वस्तुमा आयात प्रतिबन्ध हटेपनि देश बारिहनेभन्दा भित्रिने विदेशी मुद्रा बढी छ ।

0 comment