काठमाडौं - नेपालले आईसीसी यू १९ विश्वकप एसिया रिजन छनोटमा हङकङलाई ९ विकेटले पराजित गर्दै यूएईमा जारी छनोटको तेस्रो खेलमा पनि शानदार जित निकालेको छ।

यूएईको एज्मानस्थित मालेक क्रिकेट मैदानमा हङकङले ४६.३ ओभरमा सबै विकेट गुमाएर १२० रनको योगफल तयार गरेको थियो। १२१ रनको लक्ष्य पछ्याएको नेपालका लागि आकाश त्रिपाठीले ७२ बलमा ५ चौका र ४ छक्कासहित ६४ रनको शानदार इनिङ खेले।

उत्तम रंगु थापाले ५० बलमा ४ चौकासहित ३९ रन जोडेर अविजित रहे।

हङकङका लागि ड्यानियल मोर्गान म्यापले एक विकेट लिँदा अन्य बलर असफल रहे। पहिलो इनिङमा हङकङका लागि पार्थले ९३ बलमा ४ चौकासहित सर्वाधिक ३६ रनको योगदान गरे। यस्तै, मोहम्मद अलियान जाहिरले ६७ बलमा ३ चौकासहित २९ रन जोडे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि हेमन्त धामीले ९ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यस्तै, आकाश चन्द र सुवाष भण्डारीले २–२ विकेट लिए। यस्तै,दीपेक कँडेलले एक विकेट लिए।

नेपालले शनिबार भएको खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो। यस्तै, त्यसअघि फेब्रुअरी २४ मा भएको खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो।