काठमाडौं - नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आजदेखि सुरु भएको त्रिदेशीय एकदिवसीय शृंखलामा विजयी सुरुआत गरेको छ। 

दुबई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ९ विकेट गुमाएर २०३ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्दै शृंखलामा विजयी सुरुआत गरेको हो। 

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा ५ चौकासहित ५६ रनको अर्धशतकीय इनिङ खेले। यस्तै, आसिफ शेखले ३९ बलमा ५ चौकासहित ४४ रन बनाए भने कप्तान रोहित पौडेलले २० रन जोडे। 

पीएनजीका कप्तान आसाद भालाले १० ओभरमा ३७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यस्तै, नोमन भानुवा र सेसे बाउले १–१ विकेट लिए।

पीएनजीका लागि चाड सोपरले ५३ बलमा २ चौकासहित अविजित ३६ रनको अविजित इनिङ खेल्दा नोमान भानुवाले १५ बलमा २५ रन बनाए। यसअघि कप्तान आसाड भालाले ५३ बलमा ४ चौकासहित ३६ रन जोडे भने सेसे बाउले ५५ बलमा ३ चौकासहित ३१ रन बनाए। ओपनर किप्लिन डोरिगाले २९ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। 

बलिङतर्फ नेपालका लागि गुल्शन झाले ९ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यस्तै, कुशल मल्लले २ तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले १–१ विकेट लिएका थिए।

नेपाललाई एकदिवसीय मान्यता बचाउन बाँकी आठमध्ये ५ खेल जित्नै पर्ने दबाब छ। यस्तै, एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी आठै खेलमा जित निकाल्नु पर्ने दबाब छ।

यो विश्वकप क्रिकेट लिग २ को दोस्रो त्रिदेशीय शृंखला हो। नेपाल र पीएनजीसँगै घरेलु टिम यूएई सम्मिलित यो शृंखलामा नेपालले बिहीबार यूएईसँग खेल्ने छ। यस्तै, शुक्रबार पीएनजी र आगामी सोमबार यूएईसँग खेल्दै लिग २ अन्तर्गत अन्तिम भ्रमण टुङ्ग्याउने छ।

नेपालमा मार्च ९ देखि सुरु हुने अन्तिम शृंखलामा पनि नेपालसँगै पीएनजी र यूएई नै सहभागी हुनेछन्। स्कटल्यान्ड यसअघि नै च्याम्पियन बनिसकेको छ भने ओमान दोस्रो र नामिबिया तेस्रो स्थानमा छन्। यूएसए चौथो तथा यूएई पाँचौं स्थानमा छ। नेपाल छैटौं तथा पीएनजी सातौँ स्थानमा छ।