काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि रात्रिकालीन उडान र अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको छ। 

विमानस्थलमा इन्स्ट्रुमेन्ट प्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू भएसँगै रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार भएको हो।  

आइएफआर लागू भएसँगै रातिको समयमा पनि सहज रूपमा उडान र अवतरण गर्न सकिने भएको विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए। यो प्रणालीको यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरिएको थियो। 

परीक्षणपछि बिहीबारदेखि पूर्ण रूपमा आइएफआर प्रणालीबाट उडान र अवतरण सुरु भएको विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए।  

यो प्रणाली लागु हुनु अघिसम्म पोखरा विमानस्थलमा बिहान मौसमअनुसार ६ बजेदेखि दिउँसो ५:३० बजेसम्म मात्र उडान हुँदै आएकोमा अब बिहान ६ बजेदेखि राति १२ बजेसम्म १८ घण्टा जहाज उडान भर्न सक्ने गरी तयारी अवस्थामा रहेको विमानस्थलका प्रमुख गौतमले बताए। 

१८ घण्टा नै सेवा दिन सक्ने अवस्था रहे पनि जहाज उडानको चाप कम भएकाले आवश्यक्ता अनुसार बढाउने गरी अहिलेलाई भने राति ९ बजेसम्म उडान हुने विमानस्थलले जनाएको छ।

आइएफआर प्रणाली पूर्ण यान्त्रिक भएकाले भिजुअल फ्लाइट रुल्स (भिएफआर) को तुलनामा निकै सहज र सुरक्षित रहने प्राधिकरणले जनाएको छ। रात्रिकालीन उडान र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार भए पनि अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुन्छ भन्ने अझै एकीन भएको छैन। 

केही दिन पहिले पोखरा आएका पर्यटनमन्त्री सुदन किराँतीले अन्तर्राष्ट्रिय उडान क्यालेन्डर हेरेर यही दिनदेखि हुन्छ भन्न अहिले नसकिने बताएका थिए। अन्तर्राष्ट्रिय हवाई सेवा सुरु गर्न भारत, चीन लगायत विभिन्न देशसँग कुटनीतिक पहल भने भइरहेको उनले बताएको उनले सुनाएका थिए। 

रात्रिकालीन उडानका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार भएसँगै बुद्ध एयरले फागुन २५ गतेदेखि रात्रिकालीन सेवा सुरु गर्ने भएको छ। बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रूपेश जोसीले रात्रिकालीन उडानका लागि ४ वटा जहाज पोखरामा रहने पनि जानकारी दिए। बुद्धले पोखराबाट काठमाडौं, नेपालगञ्ज र भद्रपुरमा रात्रिकालीन उडान गर्ने गरी तयारी गरिरहेको जोसीले बताए। 

विमानस्थल सञ्चालनमा आएसँगै विदेश यात्राका लागि राजधानी काठमाण्डौ धाउनु पर्ने झन्झन हट्ने विश्वास गरेका पोखराका पर्यटन व्यवसायी र नागरिकहरुले विमानस्थल सञ्चालनमा आएको करिव दुई महिना भइसक्दा पनि अन्तर्राष्ट्रिय उडान नभएकोमा चिन्ता व्यक्त गरेका छन्। विमानस्थल सञ्चालन आइसकेको यतिका समय भइसक्दा पनि अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ भन्ने एकीन नहुनु अन्तर्राष्ट्रिय रूपमा कुटनीतिक पहलमा कम्जोरी रहेको व्यवसायीले बताएका छन्।