काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ। 

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत क्यानका पदाधिकारीले नेपाली टोलीलाई बिदाइ गरे । 

बिदाई कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपालमा सिंगो देशको ध्यान क्रिकेटले तानिरहेको अवस्थामा खेलाडी लगायत सबैले उत्तिकै मेहनत गरिरहेको बताए। आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने उनको विश्वास छ ।

त्यस्तै क्यानका अध्यक्ष चन्दले नेपाली राष्ट्रिय टीमले गरेको प्रदर्शनले यू–१९को मनोवल बढेको बताए। उनले दवावरहित तरिकाले प्रदर्शन गर्न आग्रह गरे। 

प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।