काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल निरन्तर अद्योगतिमा गएकाले आफूहरू मौन बस्न नसक्ने जनाउँदै मुलुक जोगाउन राजनीतिक दल र राजसंस्था मिल्नुको विकल्प नरहेको बताएका छन्। 

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिन विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले भने, 'नेपालको निरन्तर अद्योगतिप्रति अब हामी मौन रहन सक्दैनौं। देशको दीर्घकालीन शान्ति, स्थिरता र अर्न्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ। अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।'

शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि देशभक्ति नगुमाएको र देश छोडेरसमेत नगएको स्मरण गराउँदै उनले नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने आफ्नो वंशको परम्परा र संस्कार रहेको स्पष्ट पारेका छन्। 

उनले राज्यसत्ता नेताहरूको हातमा दोहोरिए तेहरिए पनि विद्यमान राज्य व्यवस्थाले जनतालाई सुख शान्तिको प्रत्याभूति गराउन नसकेको बताए। उनले नेताहरूलाई पारिवारिक र व्यक्तिगत लालचमा फसेको आरोपसमेत लगाए। परराष्ट्र नीति पनि अपरिपक्व साबित भएको उनको भनाइ छ।

'देश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरू फसेका छन्। तिनका धेरै कार्यकर्ताहरूमा राजनीतिक छत्रछाँया नभइ जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'शासकीय उत्तरदायित्व र गाम्भीर्यको कमी देशभित्रका सबालमा मात्र होइन, परराष्ट्र सम्बन्धमा पनि देखिन थालेको छ। नेपालको सार्वभौमिक परिचयमा नै आँच आउनेगरी कमजोर मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्क परराष्ट्र नीतिको अभ्यास गम्भीर चिन्ताको विषय भएको छ।'