काठमाडौं - रुपन्देही प्रहरीले काठमाडौंको नयाँबसपार्कस्थित लोत्से मलमा मोबाइल लुटेको आरोपमा एक युवकलाई भैरहवाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने १८ वर्षीय कमल कार्की रहेका छन् । कार्कीको साथबाट चोरीका तीन थान मोबाइल बरामद गरिएको छ।
फागुन १ गते यातायात व्यवसायीको प्रदर्शनका क्रममा काठमाडौं महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्कमा रहेको लोत्से मलमा लुटपाट भएको थियो । मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाईल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुटिएका थिए ।
सोही घटनामा फरार भएको भन्दै प्रहरीले आरोपी कार्कीलाई सिद्धार्थनगर–३ बाट बिहिबार पक्राउ गरेको हो। कार्कीलाई पक्राउ गरी बरामद मोबाइलसहित आवश्यक कारवाहीका लागि शुक्रबार नै प्रहरी वृत्त महाराजगञ्ज काठमाडौं पठाइएको छ।
0 comment