काठमाडौं - सेना दिवसको दिन आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेर विभिन्न कार्यक्रम गरी मनाएको छ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड' सरिक भएका थिए।
सो अवसरमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गरिन्। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।
सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७९’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो ।
सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन भयो ।
0 comment