काठमाडौं - रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि उद्धार, राहत तथा क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपालले आफ्नो परिचालन तीव्र बनाएको छ। सम्भावित थप बाढी तथा हिमताल विस्फोटको जोखिमबारे जानकारी लिन चिनियाँ समकक्षी सुरक्षा निकायसँग समेत निरन्तर संवाद र सूचना आदान–प्रदान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार तीनवटै सुरक्षा निकायको समन्वयमा बाढी प्रभावितको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण भइरहेको छ। गम्भीर घाइतेको तत्काल प्राथमिक उपचारका लागि चिकित्सा तथा उद्धार टोली आवश्यक उपकरणसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
आपत्कालीन उपचारका लागि सतुङ्गलस्थित सशस्त्र प्रहरी बलको एपिएफ अस्पतालमा शय्या खाली राखिएको छ। त्यस्तै, रसुवाभन्दा तलका नुवाकोट, धादिङ र चितवनमा रहेका सशस्त्र प्रहरीका युनिटलाई विपद् उद्धारका लागि उच्च सतर्कतामा राखिएको छ।
नदी किनारका जोखिमयुक्त बस्तीमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सशस्त्र प्रहरीका गाडी तथा गस्ती टोलीमार्फत सूचना प्रवाह भइरहेको छ। नुवाकोट सदरमुकाम विदुरमा अस्थायी स्वास्थ्य सेवा स्थापना गरी सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको थापाले जानकारी दिए।
सशस्त्र प्रहरीका विभिन्न युनिटमा तयारी अवस्थामा राखिएका आपत्कालीन राहत तथा उद्धार सामग्री बोकेका कन्टेनर आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको छ। देशका अन्य भागमा रहेका कन्टेनरसमेत बाढी प्रभावित क्षेत्रमा केन्द्रित गरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
भोटेकोशी तथा त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थप हिमताल विस्फोट वा बाढीको सम्भावित जोखिमबारे पूर्वसूचना प्राप्त गर्न चिनियाँ समकक्षी सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको छ।
यसैगरी, नदी किनारका जोखिमयुक्त बस्ती, मुख्य सडक तथा कोरिडोरमा खसेका पहिरो हटाएर उद्धार तथा अत्यावश्यक यातायात सञ्चालनका लागि बाटो खुलाउने काम तीव्र पारिएको छ। बाढी प्रभावित क्षेत्रमा थुनिएका तथा बेपत्ता नागरिकको पहिचान र क्षतिको आकलनका लागि सशस्त्र प्रहरीले ड्रोनसमेत परिचालन गरेको छ।
रसुवागढी भन्सार यार्डलगायत बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिको खोजीका लागि कुकुरसहितको खोज तथा उद्धार टोली परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा आपत्कालीन हेलिप्याड तयार गरी नेपाली सेना तथा निजी उद्धार हेलिकप्टरको सुरक्षित उडान र अवतरणको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ।
बाढीपछि विस्थापित भएका नागरिक बसेका शिविरमा हैजा तथा पानीजन्य रोग फैलिन नदिन आपत्कालीन खानेपानी शुद्धीकरणका औषधि वितरण गर्नसमेत सशस्त्र प्रहरीका टोलीलाई निर्देशन दिइएको छ।


0 comment