काठमाडौं - रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण गोरखाको पालुङटारबाट गोसाइँकुण्ड तीर्थयात्री बोकेर गएको बस सम्पर्कविहीन भएको छ।

पालुङटार नगरपालिका–५ नौखोरबाट गोसाइँकुण्डतर्फ गएको ग २ ख ११५२ नम्बरको बस सम्पर्कविहीन भएको वडाध्यक्ष दीपक पाण्डेले जानकारी दिए। बसमा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन।

पाण्डेका अनुसार पालुङटार–५ बाट दुई माइक्रोबस र एउटा बसमा स्थानीय तीर्थयात्री गोसाइँकुण्ड गएका थिए। तीमध्ये बाढी प्रभावित रसुवाको दोभान आसपासबाट उक्त बस सम्पर्कविहीन भएको जानकारी आएको उनले बताए।

‘बाढी आएपछि बसबाट सात जना हाम फालेर बाँच्यौं भन्दै सम्पर्कमा आएका छन्,’ पाण्डेले भने, ‘अरू कति जना थिए भन्नेबारे बुझ्ने काम भइरहेको छ।’

जिल्ला प्रहरी कार्यालय गोरखाले पनि बस सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको र घटनाबारे बुझ्ने काम भइरहेको जनाएको छ। भोटेकोसीमा आएको बाढीका कारण गोसाइँकुण्डतर्फ तीर्थयात्रामा गएका अन्य यात्रुसमेत प्रभावित भएको जनाइएको छ।