काठमाडौं - नयाँ बानेश्वरमा महिला प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका युवकलाई पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ।
मंगलबार बिहान नयाँ बानेश्वरमा आकाशेपुल प्रयोग गरी बाटो काट्न आग्रह गर्दा पैदलयात्री राज कठायतले महिला प्रहरीसँग विवाद गरेका थिए। विवाद बढ्दै गएपछि उनले प्रहरीमाथि हातपात गरेको आरोप छ।
घटनालगत्तै प्रहरीले कठायतलाई पक्राउ गरेको थियो। उनीविरुद्ध राष्ट्रसेवकलाई बाधा–विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।
जुम्लाको तातोपानी गाउँपालिका–२ का २७ वर्षीय कठायत हाल काठमाडौं महानगरपालिका–३१ मा बस्दै आएका छन्। जिल्ला प्रशासन कार्यालयको अनुमतिपछि प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।


0 comment