काठमाडौं - लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तीन मन्त्री थपिएका छन्। तीन मन्त्री थपिएसँगै मुख्यमन्त्रीसहित प्रदेश सरकारको मन्त्रिपरिषद् नौ सदस्यीय बनेको छ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंगलबार  नवनियुक्त स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णाकुश्मा थारूलाई पद तथा गोपनीयताको शपथ गराए।

शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर र उपसभामुख मेनुका खाँडकेसीलगायतको उपस्थिति थियो।

प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री आचार्यको सिफारिसमा सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि लुम्बिनीमा नेकपासँग सत्ता साझेदारी भएको हो। एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेकपाबाट तीन जना र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दुई जना मन्त्री रहने सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।

लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपाका १३, जसपा नेपालका ५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, जनमत पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ गरी ८३ सदस्य छन्।