काठमाडौं - काठमाडौंको नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएका प्रहरीमाथि एक युवकले हातपात गरेका छन्। जुम्ला घर भएका २७ वर्षीय राज कठायतले ड्युटीमा खटिएका महिला तथा पुरुष ट्राफिक प्रहरीमाथि हातपात गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
सडकमा जथाभावी रूपमा बाटो काट्न खोजेपछि ट्राफिक प्रहरीले कठायतलाई आकाशे पुल प्रयोग गरी बाटो काट्न आग्रह गरेका थिए। ट्राफिक प्रहरीले सडक सचेतनाअन्तर्गत पैदलयात्रीलाई जेब्राक्रसिङबाट बाटो काट्न तथा आकाशे पुल प्रयोग गर्न आग्रह गर्दै आएको छ।
तर, प्रहरीको आग्रहपछि कठायतले उल्टै ट्राफिक प्रहरीमाथि हातपात गरेको एसपी सुवेदीले बताए। घटनापछि प्रहरीले कठायतलाई पक्राउ गरी प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


0 comment