काठमाडौं - काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने भएको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा आज बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाई उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायत विषयमा छलफल गर्ने निर्णय गरेको हो।
बैठकले यही भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत घोर आपत्ति जनाएको छ। उक्त विषयमा पनि प्रधानमन्त्रीसँगको भेटमा ध्यानाकर्षण गराउने फोरमले जनाएको छ। उक्त बैठकमा सांसद तामाङ र मेयर महर्जनबीच आरोप प्रत्यारोप चलेको थियो ।
फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएकाले यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको जनाएको छ। मेयर्स फोरम काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था हो ।


0 comment