काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको जनाउँदै उच्चस्तरीय छानबिनको माग गरेका छन्।

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले प्रहरी प्रशासनभित्र अनियमितत मौलाएको बताए । प्रहरी सेवाबाट अवकाशप्राप्त लेखापालहरू नै ठेकेदार बनेर प्रहरीभित्रै सक्रिय रहेको उनको दाबी थियो। प्रहरीका लागि आवश्यक जुत्ता तथा लाठी (भाटा) खरिदमा समेत ठूलो भ्रष्टाचार भएको उनको जिकिर छ।

यसैगरी सांसद सुनारले प्रहरी महानिरीक्षकको घरमा चोरी भएको विषययमा समेत सत्यतथ्य जानकारी गराउन माग गरे । आईजीपीको निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद चोरी भएको र उक्त घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीको विशेष ब्यूरोले नियन्त्रणमा लिएर यातना दिएको उनको आरोप छ।

उनले भने, ‘आईजीपीको घरमा चोरी भएको हो कि होइन? यदि चोरी भएको हो भने त्यो रकमको स्रोत के हो, सार्वजनिक गर्नुपर्छ।’  सांसद सुनारले यी विषयमा तत्काल  उपयुक्त छानबिन समिति गठन गर्न पनि माग गरे।