अस्ट्रेलिया:अस्ट्रेलियामा फोन स्क्याम गरी तीन जना वृद्ध महिलाहरूबाट झण्डै १ लाख अस्ट्रेलियन डलर ठगी गरेको अभियोगमा एक २३ वर्षीय नेपाली विद्यार्थीलाई अदालतले जेल सजाय सुनाएको छ। 
पक्राउ पर्नेमा न्यु साउथ वेल्सस्थित  बरउड बस्ने मन्दिल श्रेष्ठ रहेका छ्न।

श्रेष्ठलाइ गोसफोर्ड लोकल कोर्टलेलाई ६ वटा वित्तीय ठगीको मुद्दामा दोषी ठहर गर्दै १५ महिनाको जेल सजाय र कम्तीमा ८ महिनाको 'नन्-पारोल' (जेलमै बिताउनुपर्ने अनिवार्य) अवधि तोकेको हो।

अदालतमा पेस गरिएको विवरण अनुसार श्रेष्ठले अस्ट्रेलियाका विभिन्न क्षेत्रमा रहेका वृद्ध तथा असहाय महिलाहरूलाई निशाना बनाएर साङ्गठनिक रूपमा ठगी गरेका थिए। उनले नोभेम्बर ७, २०२४ मा वोय वोयस्थित ८७ वर्षीया वृद्ध महिलालाई कमनवेल्थ बैंकको कर्मचारी बनेर फोन गराई 'एलेक्स स्मिथ'को नक्कली परिचय दिँदै उनको घरबाटै बैंक कार्ड लगेर १६ हजार ४ सय ९४ डलर झिकेका थिए।

 त्यस्तै नोभेम्बर २६ मा पोर्ट स्टेफेन्सकी ७२ वर्षीया महिलालाई 'अमेजन' र बैंकको नक्कली कर्मचारी बनेर फोन गरी सुरक्षा अधिकृतका रूपमा घरै पुगेर नगद र कार्ड लिई ५१ हजार १ सयब२७.५७ डलर ठगेका थिए। फेब्रुअरी ३, २०२५ मा टेरिगलकी ८८ वर्षीया वृद्ध महिलालाई टेलस्ट्राको कर्मचारी बनेर आईपी ठेगाना ह्याक भएको नाटक गर्दै घरबाट कार्ड लिई नेपाली राहदानी देखाएर अमेरिकी डलर साट्दै कुल १९ हजार ६ सय ५८ डलर ठगी गरेका थिए।

अदालतमा श्रेष्ठका वकिलले उनलाई धेरै बाठो नभएको, कलेजको शुल्क तिरिदिने प्रलोभनमा परी ठूलो नेपाली आपराधिक गिरोहको प्रयोगमा आएको र गिरोहको डरका कारण प्रहरीलाई थप विवरण दिन नसकेको दाबी गर्दै बचाउ गर्ने प्रयास गरेका थिए।
 तर, न्यायाधीश किराली पेरीले प्रहरी प्रतिवेदनमा कुनै नेपाली आपराधिक गिरोहको स्पष्ट उल्लेख नरहेको र यो आफ्नै व्यक्तिगत आर्थिक लाभका लागि गरिएको साङ्गठनिक अपराध भएको भन्दै सो दाबी अस्वीकार गरिन्। 

न्यायाधीश पेरीले श्रेष्ठले सुरुमा आफ्नो गल्तीप्रति कुनै पश्चात्ताप नदेखाएको र सजाय सुनाउने अघिल्लो दिन मात्र अदालतसमक्ष पठाएको क्षमायाचना पत्र स्वीकार गर्न कठिन रहेको टिप्पणी गरिन्। यस ठगीबाट पीडित वृद्ध महिलाहरूले ठूलो मानसिक र आर्थिक आघात व्यहोर्नुपरेको अदालतमा बताएका छन्। एक पीडितले आफूले दीर्घरोगी बहिनीको हेरचाह गरिरहेको समयमा जीवनभरको बचत गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरेकी छन्। 

कलेजको शुल्क तिर्न नसकेर अपराधमा लागेको दाबी गर्ने श्रेष्ठ अदालत परिसरमा नेपाली कागजातसहित 'IMGOAT' लेखिएको महँगो सेतो 'मर्सिडिज-एएमजी' कार हाँकेर उपस्थित भएका थिए। उनको यो विलासी जीवनशैली र पीडितहरूको दयनीय अवस्थाबिचको विरोधाभासलाई ध्यानमा राख्दै अदालतले उनलाई अन्तिम जेल सजाय सुनाएको हो ।