काठमाडौं - अघिल्लो कारोबारको दिन २१.३४ अंकले घटेको सेयर बजार परिसूचक नेप्से साताको अन्तिम सेयर कारोबार दिन आज ४१.०४ अंकले घटेर २,१४९.३९ बिन्दुमा पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ७.८९ अंकले घटेर ४११.२५ बिन्दुमा पुगेको छ ।

साताको पहिलो र दोस्रो कारोबार दिन बढेको सेयर बजार मंगलबारदेखि ओरालो लागेको हो।

आज २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँमा खरिद/बिक्री भयो। 

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक ओरालो लाग्यो भने १ उपसमूहको सूचक बढ्‍यो। 

फाइनान्स सूचक सर्वाधिक ३.७० प्रतिशतले घट्यो भने इन्भेस्टमेन्ट समूहको सूचक पनि ३ प्रतिशत बढिले घट्यो। डेभलपमेन्ट बैंक, होटेल एन्ड टुरिज्म, हाइड्रोपावर, लाईफ इन्स्युरेन्स, मनु एन्ड प्रो र नन लाईफ इन्स्युरेन्स उपसमूहको सूचक २ प्रतिशत बढिले घट्यो। बैंकिङ, माइक्रोफाइनान्स र अदर्श उपसमूहको सूचक १ प्रतिशत बढिले घट्यो। म्युच्युअल फण्ड उपसमूहको सूचक सामान्य ओरालो लाग्दा उकालो ट्रेडिङ उपसमूहको सूचक सामान्य उकालो लाग्यो।

आज तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो इनर्जी र बराही हाइड्रो पावर पब्लिकको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टको आज २२ करोड २० लाख बढिको सेयर कारोबार भयो।