काठमाडौं - नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय रुपैयाँ (भारु) नोटको कारोबार औपचारिक रूपमा खुला गरेको छ। केन्द्रीय बैंकले आवश्यक प्रक्रियागत व्यवस्था पूरा गर्दै बिहीबारदेखि ती दरका नोट नेपालमा प्रयोग गर्न सकिने व्यवस्था गरेको हो।

राष्ट्र बैंकका अनुसार सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका ५०० भारुसम्मका नोट नेपाल ल्याउन, भारत लैजान तथा नेपाली बजारमा कारोबार गर्न सकिनेछ। बैंक तथा वित्तीय संस्थाले पनि यस्ता नोट सहज रूपमा सटही गर्ने व्यवस्था गरिएको छ।

तर, २०१६ नोभेम्बरअघि जारी भएका ५०० र १ हजार दरका भारतीय नोट तथा हाल प्रचलनमा रहेको २ हजार दरको नोट भने नेपालमा राख्न वा ओसारपसार गर्न पाइने छैन।

भारत सरकारले सन् २०१६ मा पुराना ५०० र १ हजार दरका नोट प्रतिबन्ध लगाएपछि नेपालमा पनि ठूला दरका भारुको कारोबार रोकिएको थियो। त्यसबेला नेपाली बैंकिङ प्रणालीमा रहेका करोडौँ भारु साट्ने प्रयास भए पनि भारतले स्वीकार नगरेपछि प्रतिबन्ध लगाइएको थियो।

भारतीय रिजर्भ बैंक (आरबीआई)ले विदेशी विनिमय नियम संशोधन गर्दै नेपाल–भारतबीच ५०० भारुसम्मका नोटको कारोबार अनुमति दिएपछि नेपाल सरकारले पनि प्रयोग खुलाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि राष्ट्र बैंकले प्रक्रियागत व्यवस्था मिलाएको हो।