काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक बस्तुको प्रवर्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल अर्गानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले ऐन नियम बनाएर भएपनि अर्गानिक बस्तुको प्रवर्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । 

छलफलका क्रममा संघका प्रतिनिधिहरुले अर्गानिक मलमा अनुदान, अर्गानिक बस्तु निर्यातका लागि प्रमाणपत्र जारी गर्ने, अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्गानिक संस्था बनाउनुपर्ने लगाएतका विषय उठाएका थिए । जवाफमा प्रधानमन्त्री शाहले निर्यातका लागि प्रमाणपत्र जारी गर्नका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्गानिक संस्था बनाउनका लागि आवश्यक ऐन कानुन संशोधन र निर्माणमा लाग्न तत्काल सचिवालयलाई निर्देशन दिएको संघका अध्यक्ष दीपक प्रकाश बास्कोटाले जानकारी दिए । अर्गानिक बस्तुमा पाइरहेको अनुदान अहिले रोकिएकोमा त्यस विषयमा पनि लिखित जानकारी गराइएको उनले बताए।

नेपालमा उत्पादित अर्गानिक बस्तुको अन्तराष्ट्रिय बजारमा धेरै माग रहेकाले उत्पादन र बजारीकरणमा ध्यान दिन आफूहरुले सुझाव दिएको संघका अध्यक्ष बास्कोटाले बताए । उनले आफूहरुले राखेका बिषयमा प्रधानमन्त्री निकै सकारात्मक भएको उल्लेख गरे । प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवर्धनका निम्ति उद्योगी–व्यवसायीसँग निरन्तर छलफल गरिरहेका छन् ।