काठमाडौं - सर्पदंशबाट मृत्यु भएपछि उपचार खर्च तिर्न नसक्दा अस्पतालमै रोकिएको बालकको शव अन्ततः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासो र स्थानीय तहको समन्वयपछि परिवारलाई बुझाइएको छ।
महोत्तरीको बर्दिबास नगरपालिका–१२, बिजलपुरा चल्कीका चन्दन कापरका छोरा ८ वर्षीय विवेक कापरलाई बुधबार साँझ घरछेउको अम्बाको रुखमा फल टिप्ने क्रममा विषालु सर्पले टोकेको थियो। परिवारले तत्काल उपचारका लागि बर्दिबास जनसेवा अस्पताल पुर्याए पनि भेन्टिलेटरमा उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको थियो।
बर्दिबास नगरपालिका–१२ का वडा सदस्य रुपो देवी सदाका अनुसार सर्पको विष शरीरमा तीव्र रूपमा फैलिएकाले बालकको अवस्था अत्यन्त गम्भीर बनेको थियो। अस्पतालका बालरोग विशेषज्ञ डा. राकेश यादवले उपचारका क्रममा १० भाइल एन्टि–स्नेक भेनम प्रयोग गरिए पनि बालकलाई बचाउन नसकिएको बताए।
बालककी आमा अमृतदेवी कापरले भनिन्, “घरमै (अम्बा) टिप्ने क्रममा सर्पले टोकेको थियो। बचाउन सकिन्छ कि भनेर तुरुन्त अस्पताल ल्यायौं, तर मेरो छोरा फर्किएन।”उपचारमा करिब ६१ हजार रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ। आर्थिक अवस्था कमजोर भएकाले परिवारले रकम तिर्न नसक्दा केही समय शव अस्पतालमै रोकिएको थियो।
अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले घटनाप्रति चासो जनाएको थियो। त्यसपछि बर्दिबास नगरपालिका, अस्पताल र अन्य सरोकारवालाबीच समन्वय भएको हो।null
अस्पतालका सञ्चालक सुमन भुजेलका अनुसार अस्पतालले मानवीय आधारमा सुरुमै २० हजार रुपैयाँ उपचार शुल्क छुट दिएको थियो । समाचार प्रकाशितपछि प्रधानमन्त्री कार्यालयबाट फोन आएको थियो । त्यसपछि थप उपचार खर्च स्थानीय सरकारबाट दिने प्रतिबद्ध आएको हो ।
उपचारको बाँकी ४१ हजार रुपैयाँ बर्दिबास नगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले जानकारी दिए। नगरपालिकाको समन्वयपछि बर्दिबास सरकारी अस्पतालको शववाहनमार्फत बालकको शव परिवारलाई जिम्मा लगाइएको थियो।


0 comment