काठमाडौं - बारा क्षेत्र नं. ३ का सांसद अरविन्द साहलाई मोसो दल्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । सांसद साहका भाइले दिएको उजुरीका आधारमा प्रहरीले नेजामुद्धिन अन्सारीलाई बुधबार नियन्त्रणमा लिएको हो । 

अन्सारीलाई अहिले जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ । अन्सारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा साहको विरोध गर्दै स्टाटस लेखेका छन् । जसमा उनले चुनावी घोषणापत्र अनुसार काम नभएको भन्दै सांसद साहको विरोध गरेका छन् भने मोसो (कालो मसी) दल्ने भन्दै खुला धम्की दिएका छन् । 

अन्सारीले साउन ४ गते आफने फेसबुकमा लेखेका छन्, ‘मेरो ओपन च्यालेन्ज छ कालो मसी दल्ने कार्यक्रम बारा निर्वाचन क्षेत्र नम्बरको माननीय अरबिन्द साहलाई जुन ठाउँमा भेटछन् त्यही दल्ने हो है । आफ्नो मेनुफेस्टोअनुसार एक प्रतिशत पनि काम नगरेको जनताहरुको खुलासा ।’

सांसद साहले चुनाव जितेयता आफ्नो निर्वाचन क्षेत्रका लागि घोषणापत्र अनुसार काम नगरेको भन्दै अन्सारीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् । उनले त्यही दिन अर्को स्टाटस पनि लेखेका छन् । जसमा सांसद साहलाई मोसो दलेर काठमाडौं पठाई दिने बताएका छन् । 

‘बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ के माननीय अरविन्द साह ज्यू तपाईं क्षेत्र अनुगमन गर्न आउनु भको छ रे सुनेको छु । तपाईंको चुनावको मेनुफेस्टो अनुसार के गर्नुभयो । यदि गर्नु भएको छैन भने कालो मसी दलेर फेरि काठमाडाै‌ पठाउनेछौं हामी । भरत चोकमा भेट्नु कालो मसी म दल्ने छु तपाईंलाई मेरो ओपन च्यालेन्ज छ’, उनले लेखेका छन् ।

अन्सारीको उक्त स्टाटसलाई लिएर सांसद साहका भाइले बारा प्रहरीमा उजुरी दिएको र सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । घलेले दुबै पक्षलाई राखेर कुरा गर्ने तयारी भईरहेको समेत बताए। ‘उजुरी परेपछि हामीले नियन्त्रणमा लिएर राखेका छौं । अहिलेसम्म मुद्दा दर्ता भएको छैन । दुबै पक्ष राखेर कुरा गराउन खोजेका छौं’, घलेले भने, ‘सहमति नभए आवश्यक कानुनी प्रक्रियामा अघि बढ्नेछौं ।’