काठमाडौं - प्रहरीले कलाकार नारदप्रसाद खतिवडासहित तीन जनालाई पक्राउ गरेको छ। अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै नौ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कलाकार ५२ वर्षीय खतिवडा, उदयपुरको कटारी नगरपालिका–७ सिरिसे घर भई हाल ललतिपुरको नख्खीपोट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा र नवलपरासीको बर्दघाट सुस्तापश्चिमका ५९ वर्षीय गोपालकुमार गुरुङ रहेका छन्।

असार १२ गते अध्यागमन विभागले सानेपाबाट पक्राउ गरेको  नौ जना चिनियाँ नागरिकलाई  छुटाइदिने र अध्यागमन विभागमा रहेका अरु १५ वटा राहदानी पनि झिकाइदिने भनी उनीहरुले ७२ लाख रुपैयाँमा मोलमोलाई गरेको प्रहरीको दाबी छ। यसैक्रममा उनीहरूले चिनियाँ नागरिकबाट नौ लाख रुपैयाँ भने लिइसकेको खुलेको छ । पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाएको छ ।