काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ४१.७० अंकले बढ्दै लगातार पाँचौं कारोबार दिन पनि हरियाली कायम गरेको छ। अघिल्ला चार दिनदेखि निरन्तर उकालो लागेको बजारले सोमबार पनि सकारात्मक लयलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक १.५५ प्रतिशतले बढेर २ हजार ७१९.२४ अंकमा पुगेको छ। यद्यपि, अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा बजार वृद्धिदर भने केही सुस्त देखिएको छ। शुक्रबार नेप्से ७९.७४ अंकले बढेको थियो।
कारोबारमा सहभागी २७६ कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको, ३२ कम्पनीको घटेको तथा पाँच कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
सोमबार कुल ६७ हजार १५५ पटक भएको कारोबारमा १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। यसले बजारमा अधिकांश क्षेत्रका लगानीकर्ताको आकर्षण बढेको संकेत गरेको छ।
यसैबीच, सोमबार सेयर लगानीकर्ताको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरेको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले सरकार पुँजी बजारका देखिएका समस्या समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।


0 comment