काठमाडौं - प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा देशभरका बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थाबारे तयार गरिएको उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

समितिको बैठकमा उपसमितिले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमाथि सदस्यहरूले सुझावसहित छलफल गरेको हो । छलफलका क्रममा बाल सुधार गृहको भौतिक पूर्वाधार सुधार, आवश्यक जनशक्ति व्यवस्थापन, मनोसामाजिक परामर्श सेवा विस्तार तथा बालमैत्री वातावरण निर्माणमा सरकारको ध्यान जानुपर्नेमा सांसदहरूले जोड दिएका थिए। साथै बालबालिकाको अधिकार संरक्षणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सांसदहरुले धारणा रखेका थिए । 

बैठकमा समितिले बाल सुधार गृह तथा कारागारको अध्ययनका क्रममा तयार गरिएको उपसमितिको प्रतिवेदन कार्यान्वयन गर्न, बालबालिकाको सुरक्षा, शिक्षा, स्वास्थ्य, सरसफाइ र पुनःस्थापनासहित न्यूनतम मानव अधिकार सुनिश्चित गर्न निर्देशन दिएको छ । समितिले बाल सुधार गृहमा देखिएका समस्या, बालबालिकाको मानव अधिकारको अवस्था तथा पुनःस्थापनासम्बन्धी व्यवस्थाको अध्ययनपछि सरकारलाई आवश्यक सुधारका कदम तत्काल अघि बढाउन निर्देशन दिएको छ । 

बैठकमा समिति सभापति समीक्षा बास्कोटाले क्षमता भन्दा बढी बालबालिका राख्ने अवस्था अन्त्य गर्दै आवश्यक पूर्वाधार, जनशक्ति र सेवा–सुविधा व्यवस्थापन गर्न सुझाव दिइन् । प्राप्त सुझावहरूलाई समेट्दै प्रतिवेदनलाई थप परिमार्जन गर्ने तथा आवश्यक निर्देशन र सिफारिसमार्फत कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउने तयारी गरेको समिति सभापति समिक्षा बास्कोटाले जानकारी दिए।