काठमाडौं - शुक्रबारदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु हुँदै छ ।
सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट आजदेखि नै कार्यान्वयनमा आएको छ।
नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि सुरु भएसँगै बजेट कार्यान्वयनमा गएको हो।यससँगै सरकारको आम्दानी र खर्चको नयाँ खाता पनि सञ्चालनमा आउने छ । वर्षभरि सरकारले गर्ने आम्दानी र खर्चको अनुमान गरिने नयाँ बजेट पनि आजदेखि नै कार्यान्वयन हुने छ । सरकारले संवैधानिक प्रावधान अनुसार गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आजदेखि लागु हुने नयाँ आवको बजेट प्रस्तुत गरिसकेको छ । जुन संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणित पनि भइसकेको छ । सरकारतर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै बजेटको आकार सार्वजनिक गरेका थिए।
सरकारले साउन १ गतेदेखि लागु गर्ने गरी बजेट सार्वजनिक गरे पनि केही कर पनि बजेट प्रस्तुत गरेकै दिनबाट लागु हुन्छन् । खास गरी भन्सार महसुल, अन्तःशुल्क, विलासिता शुल्क जेठ १५ गतेदेखि नै लागु भइसकेका छन् । यसबाहेक व्यक्तिगत तथा संस्थागत आयकर, शिक्षा तथा स्वास्थ्य समता शुल्क लागु हुँदै छन् ।
सरकारले चालू आर्थिक वर्षका लागि सार्वजनिक गरेको कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेटमध्ये चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५९.८ प्रतिशत विनियोजन गरिएको छ। यस्तै पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (१९.९ प्रतिशत) छुट्टाइएको छ।
बजेटका लागि सरकारले राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको छ भने वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइनेछ। बाँकी ४ खर्ब १९ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने सरकारको योजना रहेको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा भने सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो।


0 comment