काठमाडौं - धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला क्षेत्रमा बिहीबार साँझ करिब ६:३० बजे ढुङ्गासहितको ठूलो सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–काठमाण्डौ सडकखण्ड करिब ११ घण्टापछि पुनः सञ्चालनमा आएको छ।
पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झर्ने क्रम जारी रहेकाले सडक दुवैतर्फी रूपमा पूर्ण अवरुद्ध भएको थियो। जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय धादिङले काठमाण्डौ भित्रिने तथा बाहिरिने सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाएको थियो। सडक बन्द हुँदा सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका थिए भने यात्रुहरूले रातभर सास्ती व्यहोर्नुपरेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार माथिबाट निरन्तर ढुङ्गा झरिरहेकाले पहिरो हटाउने कार्य चुनौतीपूर्ण बनेको थियो। जोखिमका बावजुद डोजर तथा अन्य हेभी मेसिन परिचालन गरी रातभर पहिरो पन्छाउने काम गरिएको थियो।
निरन्तरको प्रयासपछि जवाङ खोलामा खसेको पहिरो पूर्ण रूपमा हटाइएकाले शुक्रबार बिहान ४ बजेदेखि मुग्लिन–काठमाण्डौ सडकखण्ड दुवैतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ अघि बढेका छन्। पहिरोको जोखिम अझै कायम रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न जिल्ला प्रहरी कार्यालय धादिङले आग्रह गरेको छ।


0 comment