काठमाडौं - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले भोलि (असार १५ गते) देखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ओपीडी (बहिरङ्ग) सेवा पुनः सञ्चालन गर्ने भएको छ।
अस्पतालले आइतबार सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत हाललाई ओपीडी सेवा मात्र सञ्चालनमा ल्याइने जनाएको हो। बिमाअन्तर्गत सेवा लिन आउने सेवाग्राहीले बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म तथा दिउँसो १:०० बजेदेखि २:३० बजेसम्म स्वास्थ्य बिमा टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्।
अस्पतालले स्वास्थ्य बिमासम्बन्धी थप जानकारी वा कुनै समस्या परेमा स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा शाखामा सम्पर्क गर्न सेवाग्राहीलाई आग्रह गरेको छ।
स्वास्थ्य बिमा बोर्डबाट लामो समयसम्म भुक्तानी प्राप्त नभएको भन्दै शिक्षण अस्पतालले गत माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको थियो। करिब ६ महिनापछि अस्पतालले पहिलो चरणमा ओपीडी सेवा पुनः सञ्चालनमा ल्याएको हो। अस्पतालका अनुसार अन्य बिमासम्बन्धी सेवाको सञ्चालनबारे भने आवश्यक तयारी र व्यवस्थापनपछि थप निर्णय गरिनेछ।


0 comment