काठमाडौं - सर्वोच्च अदालतले तत्कालीन माओवादी जनयुद्धका क्रममा बालबालिकालाई लडाकुका रूपमा प्रयोग गरिएको विषयमा दायर रिट निवेदनमा परमादेश जारी गरेको छ।
शुक्रबार न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले तत्कालीन बाल सैनिक लेनिन बिष्ट र अधिवक्ता डा. ज्ञान बस्नेतले दायर गरेको रिटमा परमादेश जारी गरेको हो।
रिट निवेदनमा तत्कालीन माओवादी नेतृत्वकर्ता पुष्पकमल दाहाल र बाबुराम भट्टराई लाई युद्धकालमा बालबालिकालाई लडाकुका रूपमा प्रयोग गरिएको विषयमा छानबिनको दायरामा ल्याउन माग गरिएको थियो।
निवेदकहरूले द्वन्द्वका क्रममा बालबालिकालाई भर्ती गरीपछि अयोग्य लडाकुका रूपमा वर्गीकरण गरिएको, पीडितहरूलाई न्याय र क्षतिपूर्तिबाट वञ्चित गरिएको तथा यस विषयमा जिम्मेवार नेतृत्वमाथि अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउनुपर्ने माग गरेका थिए। उनीहरूले तत्कालीन नेतृत्वविरुद्ध युद्ध अपराधसम्बन्धी मुद्दा चलाउनुपर्ने समेत जिकिर गरेका छन्।
माओवादी जनयुद्धका क्रममा करिब तीन हजार बाल सैनिक प्रयोग गरिएको दाबी निवेदनमा गरिएको छ। सर्वोच्च अदालतले जारी गरेको परमादेशको पूर्णपाठ भने हालसम्म सार्वजनिक भएको छैन। पूर्णपाठ सार्वजनिक भएपछि अदालतले दिएको आदेशको विस्तृत आधार र निर्देशनबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।


0 comment