काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतले विगतलाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्ने बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बुधबार भएको भेटवार्तापछि उनले सो कुरा बताएका हुन्।
लामिछाने र प्रधानमन्त्री मोदीबीच करिब एक घण्टा लामो भेटवार्ता भएको थियो । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सभापति लामिछानेले लेखेका छन्, ‘‘नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोणमा मेरो पूर्ण ऐक्यबद्धता छ ।’’
लामिछानेका अनुसार, भेटका क्रममा दुबै देशले विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने र साझा हितका क्षेत्रमा सहकार्य गर्ने विषयमा गहन छलफल भएको छ। भारत सरकारसँग मिलेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उत्सुक रहेको लामिछाने बताए।
यसैगरी प्रधानमन्त्री मोदीले पनि भेटपछि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गरेका छन् । साथै उनले साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने बताएका छन् ।


0 comment