काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउदै सांसदहरुले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । 

सोमबार राष्ट्रियसभा बैठक सुरु हुनेबितिकै बिभिन्न दलका सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपति जनाउदै उठेर विरोध जनाएका थिए । उनीहरुले प्रधानमन्त्रीले सीमाका बिषयमा दिएको अभिव्यक्तिकाबारे स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने मागेका थिए ।

राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री बिना सूचना प्रतिनिधिसभामा उपस्थित भएर दिएको अभिव्यक्ति नियोजित भएको हुनसक्ने आशंका व्यक्त गरे । सीमामा रहेका नागरिकहरुले आफ्नो भूमि जोगाइरहेको अवस्थामा प्रधानमन्त्री नै नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति देशको हितमा नरहेको उनले बताए ।

देशको सीमाका बोरमा बोल्न नसक्ने प्रधानमन्त्रीले देशको राष्ट्रियता जोगाउन सक्ने भन्ने अपेक्षा नरहेको उनको भनाइ छ । राष्ट्रियसभाका प्राय सवै सदस्यहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गरे ।