काठमाडौं - सरकारले सुनको भन्सार दर बढाएपछि सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ। आइतबार सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेर तोलाको ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको हो। गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुनको भन्सार महशुल दरलाई बढाएर २० प्रतिशत पुर्‍याएको छ। यसअघि सुनको भन्सार महशुल दर  १० प्रतिशत थियो। भन्सार दर बढेसँगै सुनको मूल्य एकैदिन उच्च वृद्धि भएको हो।

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा खरिदबिक्री भएको थियो।