काठमाडौं - क्यान्सर निको पार्ने आशामा नियमित औषधि उपचार (किमोथेरापी)गराइरहेका बिरामी अहिले रोगसँग मात्र होइन, औषधि अभावसँग पनि लडिरहेका छन्। बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका अत्यावश्यक औषधि कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिनका साथै स्लाइन औषधिको समेत अभाव देखिएको छ।
अत्यावश्यक औषधिको अभावले मुलुकभरका क्यान्सरका सयौं बिरामीको उपचार प्रभावित भएको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। पाटन अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीका अनुसार, औषधि अभावले मुलुकभरका सयौं क्यान्सर बिरामीहरूको नियमित उपचार प्रक्रिया (केमोथेरापी साइकल) रोकिएको छ। जसले गर्दा बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ।
‘उपचाररतमध्ये ६० देखि ४० प्रतिशत क्यान्सरका बिरामी प्रभावित भएका छन्,’ क्यान्सर रोग विशेषज्ञ डा. शाही भन्छन्, ‘क्यान्सरसँग लडिरहेका बिरामीहरूको औषधि पाउँ भन्ने संवेदनशील आवाजलाई चाँडोभन्दा चाँडो सम्बोधन गरियोस्।’वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. रमिला शिल्पकार डंगोलले फेसबुकमा स्टाटस लेख्दै अत्यावश्यक क्यान्सर औषधिहरू कार्बोप्लाटिन/सिस्प्लाटिनको अभावले कतिपय निको हुने अवस्थाका क्यान्सरका बिरामीहरू समयमै उपचार पाउनबाट बञ्चित भइरहेको उल्लेख गरेकी छिन्।
उनले लेखेकी छिन्, ‘यो जीवन र मृत्युको प्रश्न हो।’ भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेका अनुसार, औषधि अभावमा निको हुने अवस्थामा रहेका बिरामीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। डा.चालिसे भन्छन्, ‘निको हुनेक्रममा रहेका क्यान्सरका बिरामीहरूले समयमा औषधि नपाउँदा निको नहुने जोखिम बढेको छ।’
क्यान्सर रोग विशेषज्ञ डा. शाहीका अनुसार औषधि अभावमा बिरामीको नियमित उपचार प्रक्रिया रोकिँदा स्वास्थ्य अवस्था थप जटिल बन्दै गइरहेको छ। डा.शाही भन्छन्, ‘औषधि नपाउँदा ज्यान नै जोखिममा परेको छ।’
सरकारले एक दशकअघि तोकेको मूल्यमा अहिले पनि औषधि बिक्री गर्नुपर्ने बाध्यताले आयातकर्ता कम्पनीहरू पछाडि हटेका छन्। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा मूल्य समायोजन नहुँदा क्यान्सरको औषधि आयातमा घाटा भएको व्यवसायीहरूको भनाइ छ। सरकारले २०७२ सालमा १ सय ७२ वटा समूहका औषधि मूल्य समायोजन गरेको थियो। एक दशक बितिसक्दा पनि मूल्यको समायोजन हुन सकेको छैन। नेपाल औषधि आयातकर्ता संघका अनुसार भारतले झैं नेपालले पनि बेलाबखत मूल्य समायोजन गरेको भए औषधि अभाव हुने थिएन।


0 comment